इंग्ल्यान्डलाई हराउँदै अष्ट्रेलिया वरीयताको शीर्षस्थानमा

खेलकुद

एजेन्सी– अष्ट्रेलियाले तेस्रो तथा अन्तिम टि२० खेलमा इंग्ल्यान्डलाई ५ विकेटले पराजित गर्दै टि२० विश्व वरीयतामा शीर्ष स्थानमा पुनः उक्लिएको छ । अष्ट्रेलियाको जितसँगै तीन टि२० आई सिरिज २–१ मा सकिएको छ । यसअघि इंग्ल्यान्ड पहिलो खेलमा दुई रन र दोस्रोमा ६ विकेटले विजयी हुँदै सिरिज जिति सकेको थियो । उक्त लगातार दुई जितले इंग्ल्यान्ड विश्व वरीयतमा शीर्ष स्थानमा समेत उक्लिएको थियो ।

दुबै टोलीको समान २ सय ७३ रेटिङ अंक हुँदा तेस्रो खेल जित्ने टोली विश्व वरीयतामा शीर्ष स्थानमा उक्लिने समिकरण बनेको थियो । जितका लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । अष्ट्रेलियाको जितमा तल्लोक्रमका मिचेल मार्श ३६ बलमा २ चौका र १ छक्का सहित ३९ रनमा अविजित रहँदै जित पक्का गरे । एश्टन अगर १३ बलमा १ चौका सहित १६ रनमा अविजित रहे ।

चौथो ओभरको पहिलो बलमा ओपनर म्याथ्यु वेडलाई मार्क वुडले क्रिस जोर्डनबाट १४ रनमा क्याच गराउँदै पेभिलिएन फर्काए । आठौं ओभरको पहिलो बलमा टम करनले टम ब्यान्टनबाट मार्कस स्टोइनिसलाई २६ रनमा क्याच आउट गराए । स्टोइनिसले १८ बलमा ५ चौका प्रहार गरे । स्पिनर आदिल राशिदले ग्लेन म्याक्सवेललाई ६ र स्टिभ स्मिथलाई ३ रनमा आउट गरे ।

आदिलले ११ औं ओभरको चौथो बलमा कप्तान आरोन फिन्चलाई ३९ रनमा बोल्ड आउट गरे । फिन्चले २६ बलमा ४ चौका र १ छक्का प्रहार गरे । आदिल राशिदले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । मार्क वुड र टम करनको नाममा १–१ विकेट रह्यो । त्यसअघि साउथह्याप्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो । इंग्ल्यान्डका जोनी बेयरस्टोले सर्वाधिक ५५ रनको योगदान दिए ।

१४ औं ओभरको तेस्रो बलमा एश्टन अगरले कट एण्ड बोल्ड आउट गर्नुअघि बेयरस्टोले ४४ बलमा समान ३ चौका र छक्का प्रहार गरे । दोस्रो ओभरको पाँचौ बलमा जोश हेजलवुडले टम ब्यान्टनलाई वेडबाट २ रनमा क्याच आउट गराए । डेविड मलानलाई एडम जाम्पाले २१ रनमा पेभिलिएन फर्काए । मोईन अली २३ रनमा आउट हुँदा जो डेनली २९ रनमा अविजित रहे । अष्ट्रेलिया एडम जाम्पाले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए ।

जोश हेजलवुड, मिचेल स्टार्क, केन रिचर्ड्सन र एश्टन अगरले १–१ विकेट लिए । यो जितसँगै अष्ट्रेलिया टि२० वरीयतामा २२ खेलमा २ सय ७५ रेटिङ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको इंग्ल्यान्डको समान खेलमा २ सय ७१ रेटिङ अंक छ । नयाँ टि२० वरीयतामा नेपाल १५ औं स्थानमा यथावत छ । अष्ट्रेलिया र इंग्ल्यान्डबीच थप तीन ओडिआई सिरिज हुने छ । पहिलो खेल शुक्रबार, दोस्रो आइतबार र अन्तिम बुधबार म्यानचेस्टरमा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *