दिल्लीले आइपिएल उपाधि जित्ने ५ आधार

मनाेरञ्जन

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) को इतिहासमा एक असफल फ्रेन्चाइज टोलीको रुपमा परिचित छ । आइपिएलका १२ संस्करण सम्म दिल्लीले फाइनल सम्मको यात्रा तय गर्न सकेको छैन । सेप्टेम्बर १९ देखि संयुक्त अरव इमिरेट्र्स (यूएई) मा सुरु हुने आइपिएलमा दिल्ली असफल टोलीको छाप अन्त्य गर्दै पहिलो पटक फाइनलमा पुग्दै च्याम्पियन बन्ने सोचमा छ । पछिल्लो दुई वर्षमा दिल्लीको टोली र प्रर्दशनमा धेरै परिवर्तन देखिन्छ ।

यस सिजनमा कागजी रुपमा दिल्ली सर्वाधिक बलियो र सन्तुलित टोली हो । पछिल्लो केहि वर्षयता युवा खेलाडीमा केन्द्रित रहँदै आएको दिल्लीले नाम अनुसार प्रर्दशन गर्ने हो भने उपाधि कठिन देखिदैन । दिल्ली सन् २००८ को सेमिफाइनलमा राजस्थान रोयल्ससँग १ सय ५ रनको फराकिलो अन्तरले पराजित हुँदै बाहिरिएको थियो । सन् २००९ को सेमिफाइनलमा डेक्कन चार्जर्ससँग ६ विकेटले पराजित हुँदै फाइनल पुग्ने अवसर गुमाएको थियो ।

सन् २०१२ मा दिल्ली कोलकाता नाइट राइडर्स १८ रनले स्तब्ध हुँदै फाइनलमा पुग्ने सपना अधुरै बनेको थियो । त्यसपछि दिल्ली सन् २०१८ सम्म लिग चरणबाटै बाहिरि रह्यो । गतवर्ष चेन्नई सुपर किंग्ससँग ६ विकेटले पराजित हुँदै पहिलो पटक फाइनलमा पुग्ने सपना पुन: अधुरै बन्न पुग्यो । गतवर्ष दिल्लीको प्रर्दशन प्रतियोगिताभर राम्रो थियो ।

तर तल्लोक्रमको कम्जोर ब्याटिङ र अन्त्यमा उत्कृष्ट लयमा रहेका तीव्र गतिका बलर कागिसो रबाडा चोटका कारण बाहिरिनु सबैभन्दा ठूलो घातक बन्न पुग्यो । यस पटकको अक्सनमा दिल्लीले आफ्नो समस्यालाई मध्यनजर आवश्यक खेलाडी अनुबन्ध गरेपछि च्याम्पियन टोली निर्माण गरेको छ । वेस्टइन्डिजका शिम्रन हेटमायर, अष्ट्रेलियाका विकेटकिपर एलेक्स केरी र अलराउन्डर मार्कस स्टोइनिसलाई मोटो रकम खर्चेर अनुबन्ध गरेको थियो ।

यी तीन खेलाडीको अनुबन्धले गर्दा दिल्लीको तल्लोक्रमको ब्याटिङ समस्या समधान हुने छ । आइपिएलमा सबै टोलीका खेलाडी हेर्ने हो भने कागजी रुपमा बलियो र उपाधिको प्रमुख दाबेदार दिल्ली देखिन्छ । सन्दीप सम्मिलित दिल्लीले पहिलो पटक फाइनलमा पुग्दै उपाधि जित्न सक्ने यी पाँच बलिया आधार छन् ।

५. युवा खेलाडीको बाहुल्यता दिल्लीमा वर्तमान समयमा निरन्तर अन्तराष्ट्रिय खेल्दै उत्कृष्ट प्रर्दशन गर्दै आएका युवा खेलाडी बढी छन् । सन्दीपसँगै कागिसो रबाडा, ऋषभ पन्त, श्रेयस ऐर, मार्कस स्टोइनिस, एनरिच नोर्टजे, पृथ्वी शा लगायतका युवा खेलाडी दिल्लीमा छन् । युवा खेलाडीको बाहुल्यता हुँदा टोलीमा जोश र जागर बढ्छ । जसले ब्याटिङ र बलिङमा मात्र होईन फिल्डिङ मार्फत पनि टोलीलाई जितको आधार तय गराउन सक्छन् ।

अरु टोली धेरै विदेशी खेलाडीमा निर्भर छन् । ती खेलाडी आफ्नो अन्तर्राष्ट्रिय खेल भएमा आइपिएल गुमाउन सक्छन् । विदेशी खेलाडीले कम्जोर प्रर्दशन गर्दा टोलीको अवस्था पनि नाजुक हुन सक्छ । तर दिल्लीमा भारतीय खेलाडीनै खेल जिताउन सक्ने खेलाडी छन् । दिल्लीलाई चारनै विदेशी खेलाडी खेलाउनै पर्छ भन्ने छैन ।

शा, धवन, ऐर, रहाणे, पन्त, अक्षर, मिश्रा, आश्विन, इशान्त शर्मा, मोहित शर्मा लगायतका विश्वस्तरिय खेलाडी छन् । एकतर्फ युवा खेलाडीको जोश जागर छ भने अर्कोतर्फ विदेशी खेलाडीले खेल गुमाउदा अन्य टोलीलाई जस्तो ठूलो असर दिल्लीलाई पर्दैन ।

४. सन्तुलित टोली कुनैपनि टोली एक पक्ष्य मात्र बलियो भएर च्याम्पियन बन्न सक्दैन । च्याम्पियन बन्न ब्याटिङ, बलिङ, फिल्डिङ, युवा, अनुभवी खेलाडी, उत्कृष्ट प्रशिक्षक, कप्तान र रणनीति लगायतका धेरैकुरा हुनुपर्छ । ती कुरा दिल्लीको टोलीमा पाउन सकिन्छ । विश्वकप च्याम्पियन अष्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङ प्रमुख प्रशिक्षकका रुपमा छन् । युवा कप्तान श्रेयस ऐरले गत वर्ष कप्तानी राम्रो गरेका थिए ।

दिल्लीको शीर्षक्रम ब्याटिङमा धवन, शा, अजिंका रहाणे छन् । मध्यक्रममा आक्रामक ब्याट्सम्यान पन्त र ऐर छन् । तल्लोक्रममा हेटमायर, स्टोइनिस, अक्षर पटेल छन् । स्पिनरमा सन्दीपसँगै मिश्रा र आश्विन छन् । तीव्र गतिका बलरमा रबाडा, ड्यानियल स्याम्स, नोर्टजे, मोहित शर्मा, ईशान्त लगायतक खेलाडी छन् । दिल्लीसँग एउटा खेलाडीले खराब प्रर्दशन गर्दा अर्को राम्रो विकल्प छ ।

अर्कोतर्फ दिल्लीका खेलाडीलाई प्लेइङ ११ मा स्थान बनाउन तीव्र प्रतिस्पर्धा गर्नुपर्ने हुँदा टोलीलाई फाइदा हुनेछ । विकेटकिपरमा पन्त र एलेक्स केरी छन् । अन्य फ्रेन्चाइज टोली हेर्दा कुनैको ब्याटिङ र कसैको बलिङ बलियो छ । तर दिल्लीको टोलीमा सन्तुलन देखिन्छ । जसले गदा यो पटक उपाधि जित्न सक्छ ।

३. विश्वस्तरीय स्पिन आक्रमण आइपिएल हुने युएईका शारजाह, आबूधाबी र दुबईका पिच स्पिनर उपयोगी मानिन्छ । त्यसको फाइदा दिल्लीलाई हुने छ । दिल्लीले यस पटक भारतीय सफल स्पिनर आश्विनलाई टोलीमा भित्र्याएको छ । गतवर्ष किंग्स इलेभेन पञ्जावका कप्तान समेत रहेका अफ स्पिनर आश्विनलाई टोलीमा भित्र्याउदा दिल्लीको स्पिन आक्रामण अझ बलियो बनेको छ । अफस्पिनर आश्विन, लेग स्पिनर मिश्रा र सन्दीपले विपक्षी टोलीका ब्याट्सम्यानलाई धरासयी बनाउन सक्छन् ।

विशेषत मध्यक्रममा दिल्लीका स्पिनरबाट रन जोड्न विपक्ष्य ब्याट्सम्यानलाई सहज हुने छैन । एक तर्फबाट अफ र अर्को तर्फबाट लेग स्पिन बल गराउँदै दिल्लीले विपक्षी ब्याट्सम्यानलाई दबाबमा राख्न सक्छ । प्रमुख तीन स्पिनरलाई छोड्ने हो भने पार्टटाइमको रुपमा अक्षर पटेल पनि छन् । स्पिनर उपयोगी पिचमा विश्वस्तरिय बलर हुँदा दिल्लीले त्यसको फाइदा उठाउँदै सहज जित हात पार्न सक्छ ।

२. मजबुत बलिङ दिल्लीको बलिङ यसअघि केहि कम्जोर देखिएको थियो । तर दिल्लीले इंग्ल्यान्डका क्रिस वोक्सको स्थानमा दक्षिण अफ्रिका तीव्र गतिका युवा स्टार एनरिच नोर्टजे र जेसन रोयको स्थानमा अष्ट्रेलियाका ड्यानियल स्याम्सलाई भित्र्याए पछि बलियो बनेको छ । रबाडाले गतवर्ष १२ खेलमा उत्कृष्ट प्रर्दशन गर्दै २५ विकेट लिएका थिए ।

अन्तराष्ट्रिय स्तरमा निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका रबाडा डेर्थ ओभर स्पेलिष्ट बलर हुन् । डेर्थ ओभर रबाडाले समाल्दा ओपनिङ नोर्टजे र स्याम्स मध्य एकले गर्नेछन् । रबाडा र नोर्टजे दुबै योर्करका लागि चर्चित छन् । बिग ब्यास २०१९–२० मा सर्वाधिक विकेट लिने खेलाडी बनेका स्याम्सलाई दिल्लीले हालै भित्र्याएको छ । दिल्लीमा स्पिनरमा मिश्रा, सन्दीप र आश्विन छन् । स्पिनरले मध्यक्रम समाल्ने छन् ।

पार्टटाइमा मार्कस स्टोइनिस, किमो पल, अक्षर पटेल छन् । दिल्लीको बलिङ लाइनअप देख्दा विपक्ष्य टोलीलाई विशाल योगफल बनाउन कठिन पर्छ । स्याम्स र नोर्टजे मध्य एकले उत्कृष्ट सुरुवात दिल्लीलाई दिलाउने छन् । मध्यक्रममा अफ र लेग स्पिनर हाबी हुने छन् । तल्लोक्रममा रबाडाले उत्कृष्ट अन्त्य गर्ने छन् । जसले गर्दा बलरहरुको उच्च प्रर्दशनमा पहिलो पटक उपाधि जित्ने सपना पूरा हुन सक्छ ।

१. उत्कृष्ट ब्याटिङ लाइनअप दिल्लीले यस पटक उपाधि जित्न सक्ने प्रमुख आधार उत्कृष्ट ब्याटिङ लाइनअप हो । दिल्लीका ब्याट्सम्यानले नाम अनुसार मैदानमा प्रर्दशन गर्ने हो भने विशाल योगफल सहजै बनाउन र पूरा गर्न सक्छन् । दिल्लीको ओपनिङ शा र धवनले गर्ने छन् । यी दुबैले उत्कृष्ट इनिङका साथ राम्रो सुरुवात दिलाउनुका साथै आक्रामक रुपमा रन जोड्न सक्छन् । यी दुईले खराब प्रर्दशन गर्दा रहाणे र स्टोइनिस विकल्पमा रहने छन् ।

दिल्लीको ओपनिङ सुरुवातलाई तेस्रो नम्बरमा ऐरले अगाडि बढाउने छन् । पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा ऐरले उच्च प्रर्दशन गर्दै आएका छन् । चौथो नम्बरका पन्तको ब्याटिङमा जिम्मेवारी ब्याटिङ देखिन आवश्यक देखिन्छ । जव पन्त चल्छन् भने उनलाई रोक्न मुश्किल पर्छ । दिल्लीका शीर्षक्रमका ब्याट्सम्यानले गतवर्ष उच्च प्रर्दशन गरेका थिए । तल्लोक्रम गतवर्ष कम्जोर थियो ।

यस पटक शीर्षक्रमका ब्याट्सम्यान सस्तैमा आउट हुँदा तल्लोक्रमका खेलाडीले पनि ठूलो इनिङ खेल्दै विशाल योगफलमा पुर्याउन सक्ने खेलाडी रहेका छन् । पाँचौ नम्बरमा हेटमायरले ब्याटिङ गर्न सक्छन् । हेटमारलाई चौथो नम्बरमा ब्याटिङ गराउँदै दिल्लीले पाँचौ नम्बरमा फिनिसरको रुपमा पन्तलाई जिम्मेवारी दिन सक्छ । वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान हेटमायर उत्कृष्ट लयमा छन् ।

हेटमायरले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा उत्कृष्ट ब्याटिङ गरेका छन् । हेटमायरको लय हेर्दा उनलाई रोक्न कठिन पर्ने देखिन्छ । छैटौं नम्बरमा मार्कस स्टोइनिस वा एलेक्स केरी मध्य एकले ब्याटिङ गर्ने छन् । अष्ट्रेलियन यी दुबै खेलाडीले उत्कृष्ट ब्याटिङ गर्ने गर्दछन् । बिग ब्यास लिग २०१९–२० मा सर्वाधिक रन बनाउने ब्याट्सम्यान स्टोइनिस उत्कृष्ट लयमा छन् । बाँया हाते ब्याट्सम्यान केरीले पनि उच्च प्रर्दशन गर्दै आएका छन् ।

सातौं नम्बरमा अक्षरको सम्भावना छ । पटेलले तल्लोक्रममा आक्रामक ब्याटिङ गर्ने गर्दछन् । रबाडा र आश्विन पनि तल्लोक्रममा ठूला सटको क्षमता राख्ने गर्दछन् । दिल्लीका शीर्ष ६ ब्याट्सम्यान मध्य एक क्रिजमा टिक्दा पनि दिल्ली बलियो योगफलमा पुग्न सक्छ । विश्वका चर्चिच ब्याट्सम्यान रहेका दिल्लीले त्यसको सहयोगमा पहिलो पटक उपाधि जित्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *